शेयेर गर्नुहोस
टीकापुर १९ फागुन/
वर्षौंदेखि धुमधामका साथ हुँदै आएको होरीको उत्साह यसपटक निकै कम देखिएको छ ।
सांस्कृतिक समाज टीकापुरको आयोजनामा सञ्चालन हुने होरी खेल फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनले प्रभावित बनेको हो । झन्डै एक हप्तासम्म हर्ष उल्लासका साथ भगवानका गाथा (डेबरा) गाउँदै डेउडा शैलीमा खेलिले होरी निर्वाचनका कारण प्रभावित बनेको छ । “यसपटक सबैको ध्यान निर्वाचन तिर छ । सबै चुनावी प्रचारप्रसारमा छन् ।” सांस्कृतिक समाजका अध्यक्ष प्रेमबहादुर रावलले भने, “चुनावी आचारसंहिताका कारण हामीले एक दिन अगाडि नै होरी समापन गरेका छौँ ।
तराई होली आज हो । तराई होलीका दिन चिर पोलेर समापन हुने टीकापुरको होरी यसपटक सोमबार नै समापन गरिएको छ । आज राती १२ बजेबाट चुनावी आचारसंहिता लागेका कारण अघिल्लो दिन नै होरीको चिर पोलेर समापन गरिएको अध्यक्ष रावलले जानकारी दिएका छन् । हजारौंको सहभागितामा केही वर्ष पहिलेसम्म रातभर होरी र न्याउले खेलिने भए पनि शान्तिसुरक्षाको जोखिम देखाएर साझसम्म मात्रै होरी खेलिँदै आएको थियो । होरी खेलमा सयौं पुरुषहरु सेतो पहिरनमा देखिन्थे । खुला मैदानको झन्डै आधा भाग होरी खेल्नेहरुले ढाकेका हुन्थे । तर यसपटक त्यो दृश्य होरी खेलमा देख्न पाइएन ।
होरीसँगै न्याउले देउडा खेल हर्न पनि होरीको समयमा टीकापुर मात्रै नभई बर्दियासम्मका दर्शक टीकापुर खुला मैदान पुग्ने गरेका छन् । यसपटक देउडा खेल्ने समूह पनि खुला मैदानमा देखिएनन् । “होरीको निहुमा देउडा खेल्ने र हेर्नेको भिड बढी हुन्थ्यो । ठाउँठाउँमा खेलहरु देखिन्थे ।” स्थानीय रणबहादुर रावल भन्छन्, “यसपटक महिलाको एकदुई खेल देखिए पनि पुरुषको खेल देख्न पाइएन । पुरुषहरु निर्वाचनमा केन्द्रित भएका कारण त्यसो भएको हुन सक्छ ।”
होरीमा मात्रै नभई बजार क्षेत्रमा पनि होलीको चहलपहल निकै कम छ । होलीमा प्रयोग हुने रङ तथा अन्य सामाग्रीको व्यापार निकै कम भएको व्यापारी बताउँछन् । “होली आएको जस्तो महसुस नै हुन सकेको छैन । होलीको व्यापार निकै कम छ ।” होलीको सामाग्री बिक्रि गरिरहेका अकबर अलि भन्छन्, “गतवर्षसम्म ४०/५० हजारसम्मको सामान बिक्रि हुन्थ्यो । यो पटक ५/१० हजारको पनि बिक्रि गर्न सकिएको छैन ।”










