शेयेर गर्नुहोस
टीकापुर १२ फागुन /
कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकाब उम्मेदवारले पर्यटन र आर्थिक समृद्धिलाई प्रमुख एजेन्डा बनाएका छन् ।
सुभारम्भ अनलाइन टिभीले आयोजना गरेको पब्लिक डिबेट कार्यक्रममा टीकापुरको समग्र विकास, रानी–जमरा सिँचाइ आयोजनाको प्रभावकारी कार्यान्वयन, यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना तथा जनस्तरको आर्थिक अवस्था उकास्ने विषय मुख्य एजेन्डा बनाएका हुन । स्थानीय सरोकार, रोजगारी सिर्जना र पूर्वाधार विस्तारका सवालमा उम्मेदवारहरूले आआफ्ना दृष्टिकोण सार्वजनिक गरेका हुन्।
डिबेट कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनकराज शाह, नेपाल कम्युनिस्ट पार्टी माओवादीका रामबहादुर विश्वकर्मा, उज्यालो नेपाल पार्टीका प्रदीप कुमार चौधरी, स्वतन्त्र उम्मेदवार नरेश रावल, आम जनता पार्टीबाट रुपाकुमारी चौधरी सहभागी भएका थिए । उनीहरूले टीकापुरलाई कृषि, पर्यटन र साना तथा मझौला उद्योगको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनामा जोड दिएका छन् ।
उम्मेदवारहरूले विशेषगरी राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गरी कृषकको उत्पादन बढाउने, कृषि उपजको बजारीकरण सहज बनाउने र आधुनिक भण्डारण तथा प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसले किसानको आम्दानी बढाउने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने दाबी उम्मेदवारले गरेका छन् । साथै, टीकापुर पार्क, नदी तटीय क्षेत्र र थारू संस्कृति जस्ता मौलिक पहिचानलाई जोडेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने साझा धारणा पनि व्यक्त गरेका छन् ।
कार्यक्रममा रोजगारी सिर्जना, युवा उद्यमशीलता प्रवर्द्धन, सडक तथा पुल निर्माण, शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधार र पारदर्शी शासन प्रणाली स्थापना जस्ता विषयमा पनि गम्भीर छलफल भएको थियो । सहभागी उम्मेदवारहरूले टीकापुर विकासको नयाँ युग सुरु गर्न समन्वित प्रयास आवश्यक रहेको उल्लेख गर्दै विकासका एजेन्डामा सहकार्यको आवश्यकता औल्याएका छन् ।










