बाल सहभागितामा सबैको जोड

शेयेर गर्नुहोस


टीकापुर १४ माघ /
नीति निर्माण र निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता विषयक संवाद कार्यक्रम टीकापुरमा सम्पन्न भएको छ ।
बालबालिकाहरुलाई नीति निर्माण र निर्णयको क्षेत्रसम्म कसरी सहभागी गराउन सकिन्छ र त्यसमा पनि सीमान्तकृत तथा पहुँच भन्दा बाहिरका बालबालिकाहरुको भुमिकालाई सुनिश्चित गराउने उद्देश्यले उक्त संवाद कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले सरकारले नै २०८५ वैशाख १ गतेसम्म कक्षा ८ पास नगरेको व्यक्तिलाई प्रवाह गर्नुपर्ने सेवामा रोक लगाउने गरी काम गरिरहेको बताउँदै आधारभूत तहसम्मको अध्ययन सबै बालबालिकाका लागि अनिवार्य भएको बताएका छन् ।
गत शैक्षिक सत्रमा नगरपालिकाले गरेको सर्वेक्षणले दुई सय ३० जना बालबालिका बालबालिका बाहिर रहेको भेटिएको बताउँदै यसवर्ष पनि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिका बिधालय बाहिर छन् कि भनेर खोजी गर्ने काम भैरहेको शिक्षा अधिकृत अवस्थीले जानकारी दिएका छन् ।
नगरपालिकाले अभिभावक विहिन बालबालिकालाई संरक्षण गर्न केन्द्र सञ्चालनमा ल्याएको भन्दै अहिले उक्त केन्द्रमा बसेर २० जना बालबालिका आवासीय रुपमा अध्ययन गरिरहेको उनले बताए । साथै नगरपालिकाको सिकाई उपलब्धिको तथ्यांक हेर्दा कक्षा ८ मा ७९ कक्षा १० को ४९ प्रतिशत उनको भनाई छ भने नगरपालिकामा सिकाई उपलब्धि बढाउनका लागि निरन्तर बिधालय र नगरपालिकाको समन्वय र सहकार्य निरन्तर भैरहेको छ ।
नगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख बलबहादुर रावलका अनुसार नगरपालिकाको गतवर्षको तथ्यांक अनुसार दुई वर्ष मिनिका बालबालिकामा ४३ बालबालिका जोखिममा रहेको पाइएको थियो । अझै २० वर्ष मिनिका आमाहरू स्वास्थ्यको बढी जोखिममा रहेको बताउँदै उनले नगरपालिकाले ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्दै आएको र गतवर्षको तथ्यांक हेर्दा मातृ मृत्युदर शुन्य रहेको छ । स्वास्थ्यमा भौतिक पुर्वाधारको निकै अभाव रहेको बताउँदै रावलले खोप केन्द्र, गाउँघर क्लिनिक अन्तर्गतका कार्यक्रम खुला सार्वजनिक ठाउँमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
महिला, बालबालिका शाखा प्रमुख संगीता शाहले नगरपालिकामा एक सय ३८ जनाले अपाङ्गता भएको प्रमाणपत्र सहितको सेवा लिएको बताएकि छन् । उनका अनुसार नगरपालिकाले समस्यामा परेका बालबालिकालाई लक्षित गरेर बालकोष बनाएको छ भने बालमैत्री स्थानीय शासन वडा घोषणाको कामलाई अगाडि बढाइएको छ ।
संवाद कार्यक्रममा सेतीमैया चौधरी माद्यामिक बिधालय झुंङ्गाका प्रधानाध्यापक पतीराम चौधरीले रोजगारीको सिलसिलामा अभिभावक घरभन्दा बाहिर हुने हुँदा बालबालिका बिग्रने क्रम बढेको बताएका छन् । उनले कैयौं विद्यार्थी घरबाट बिधालय पोशाकमा बिधालय आउने गरे पनि बाटोमै हराउने गरेको भेटिएको बताए । अभिभावककै कुरा बालबालिकाले सुन्न र मान्न छोडेको बताउँदै प्रधानाध्यापक चौधरीले बर्सेनि सिकाइ स्तर कमजोर बन्दै गएको बताए ।
नेपाल शिक्षक महासंघ टीकापुर नगर अध्यक्ष रघुनाथ उपाध्यायले नीति निर्माणका क्षेत्रमा बालबालिकाको पहुँच अझै पुग्न नसकेको बताउँदै बालबालिकालाई शिक्षा प्रति जिम्मेवार बनाउन अभिभावक शिक्षा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले बिधालय र अभिभावकको छलफल अनि समन्वयलाई व्यापक बनाइनुपर्ने बताए । अपाङ्गता भएका व्यक्तिको अझै समावेशीताको आधारमा स्थानीय तहमा भुमिका सुनिश्चित हुन नसकेको नगरपालिकाको वडा नं. १ का वडा सदस्य गणेश घर्तीमगरले बताएका छन् ।
वडा नं. ९ का वडा अध्यक्ष लौटन चौधरीले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउने कामहरु भैरहेको बताए । वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले राज्यको लगानि सामुदायिक बिधालया भए पनि परिणाम संस्थागत बिधालयको राम्रो हुने गरेको उल्लेख गरे । उनले प्राप्तिलाई मात्रै नहेरी क्रियाशिलतालाई ध्यान दिनुपर्ने बताए ।
वडा नं. ६ का वडा अध्यक्ष बलिराम चौधरीले विद्यार्थीहरुलाई फेल गर्न हुँदैन र शुल्क लिनु हुँदैन भन्न कुराले शैक्षिक नतिजा खस्किँदै गएको बताएका छन् । उनले नगरपालिका भित्र सबैभन्दा पहिले आफ्नै वडाले निशुल्क शिक्षाको अवधारणा ल्याएको उल्लेख गर्दै त्यसपछिका दिनमा शैक्षिक प्रगति खस्किँदै गएकोले थोरै भएपनि शुल्क लिनुपर्नेमा जोड दिए । अध्ययन प्रति रुचि नभएका बालबालिका जति कोसिस गर्दा पनि अध्ययनमा सक्रिय हुन नसक्ने उनको भनाइ थियो ।
टीकापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरीले नगरपालिकाले बालबालिकाको क्षेत्रमा धेरै सकारात्मक कामहरू गरेको बताएका छन् । उनले बिधालयले अभिभावक सहयोग शुल्क भनेर बिद्यार्थीबाट उठाउने शुल्कको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै आउने आर्थिक वर्षबाट बिद्यार्थीबाट कुनै किसिमको शुल्क लिन नपाउने गरी काम अगाडि बढाइने बताए । “शिक्षण सहयोग अनुदान कार्यविधि हामीले बनाएका छौँ । त्यसैको आधारमा बिधालयलाई आवश्यक रकम उपलब्ध नगरपालिकाले गर्ने छ ।” उनले भने, “आउने वर्षबाट कक्षा १२ सम्मको शिक्षा पुर्ण निशुल्क बनाउने छौं ।” संवाद कार्यक्रममा सहभागी बालबालिका तथा अभिभावकले जवाफदेही निकायलाई प्रश्न गरेका थिए ।
यार्ड धनगढीको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा भएको उक्त कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो टीकापुर एफएमका स्टेसन म्यानेजर एकिन्द्र तिमिल्सिनाले गरेका थिए ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *