शेयेर गर्नुहोस
सम्पादकीय १४ माघ /
किन बोल्दैनन् बालेन ? बुझेको राजनीति सिद्धान्त अनि एजेण्डामा केन्द्रित हुनुपर्छ । अझै त्यहीँ सिद्धान्तका आधारमा देशको माटो सुहाउँदो जनताको अपेक्षालाई आत्मसात गर्ने राजनीति आवश्यक छ भन्ने बुझाई छ । त्यहीँ बुझाईका आधारमा जनताको माझमा आफ्ना योजना, कार्यदिशा सहित त्यो नेतृत्व गर्ने निकायमा पुग्दा यतिसम्म गर्न सक्छु भन्ने कुराको स्पष्टता सबैमा हुनुपर्छ । तर, हाम्रोमा काम कम गर्ने, बढी बोल्ने प्रवृत्तिले जनतामा बोलेर हुन्छ भन्ने विश्वास कायम हुन सकेको छैन । अझै नबोल्नेलाई राजनीतिले बोल्ने बनाउँछ भन्ने बुझाई पनि हाम्रो छ । अधिकांशको व्यवहारले पनि त्यसलाई पुष्टि गर्दै आएको कुरा हो ।
निर्वाचन अगाडि नै भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरिएका एक पात्र बालेन्द्र शाह बालेन भने बोल्दैनन् । यो निकै चासोको विषय पनि हो । किन बोल्दैनन् । हिजो काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि निकै कम बोल्ने उनी बेलाबेला सामाजिक सञ्जालमा आउने स्टाटसले चर्चामा आउने गरे पनि न सार्वजनिक कार्यक्रममा बोल्छन् । न कुनै मिडियामा नै । पछिल्लो समय झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा चुनावी मैदानमा देखिएका उनले अझै बोलेका छैनन् । उनको आगामि राजनीतिक मार्गचित्र के हो भन्ने नै अन्योल छ । चुनावी एजेण्डा बाहिर आएको छैन । नबोलेरै चर्चामा रहेका बालेन पछिल्लो समय देश दौडाहामा हुँदा पनि सार्वजनिक रुपमा उनको धारणा बाहिर आएको छैन । हरेक ठाउँमा पार्टी कार्यालय पुग्दा, नेता तथा कार्यकर्तासँग भेट हुँदा पनि उनले कुनै निर्देशन होस् वा सुझाव दिएको कुरा समेत बाहिर आउन सकेको छैन । मिडियाले प्रश्न गर्दा उनको जवाफ फर्किदैन । अहिले मिडियाले उनको दैनिकी अर्थात कहाँ पुगे ? भन्ने कुरालाई लिएर मात्रै चर्चा गरिरहेको देखिन्छ ।
देशभर निकै चर्चामा रहेका युवाहरूमा रुचाइएका बालेनलाई कतै मिडियाले नै चर्चामा ल्याएको होइन ? उनको चर्चा समयको आवश्यकता हो वा विकल्पको खोजि ? यो बुझ्न अझै सकिएको छैन । त्यतिमात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताको रुपमा देखिएका बालेनको चर्चाले पछिल्ला वर्ष नेपाली राजनीति वृत्तमा चर्चामा रहेका रबि लामिछाने समेत ओझेलमा परेको देखिन्छ । उनी बोल्दाबोल्दै पनि ओझेलमा पर्दा बालेन नबोलेर किन चर्चामा छन् भन्ने कुराको विश्लेषण हुनुपर्छ । उनको चर्चा राजनीतिमा देखिएको तिक्तताको उपज भन्दा अरु केहि होइन ।










