भवन जीर्ण बन्दा व्यापारीलाई समस्या

शेयेर गर्नुहोस


टीकापुर १९ फागुन /
एउटा पक्की भवनको आयु कति होला २० वर्ष ३० वर्ष ।
कैलालीको टीकापुर नगरपालिकाले परिसर बाहिर निर्माण गरेको सपिङ्ग कम्प्लेक्स भवन भने निर्माण सम्पन्न भएको एक दशक नबित्दै जीर्ण बन्दै गएको छ ।
निर्माण सम्पन्न भएको एक दशक मै भवन जीर्ण भएपछि भाडामा बस्दै आएका व्यापारी त्रसित भएका छन् । गर्मीयाममा छारो र धुलो झर्ने, वर्षातको समयमा चुहिने समस्याले व्यापारीहरु आजित बनेका हुन । १० वर्षदेखि सोही भवनको सटर भाडामा लिएर व्यापार गर्दै आउनुभएका मदिना फेन्सी स्टोरका सञ्चालक नारायण न्यौपानेले पटकपटक नगरपालिकालाई मर्मतका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको नभएको बताउनुभयो ।
“दुईतीन वर्ष भैसक्यो भवन निकै जीर्ण बन्दै गएको छ । वर्षातको समयमा पानी चुहिने, गर्मीमा बालुवा र माटो झर्ने हुँदा सामान जोगाउनै मुस्किल छ ।” न्यौपाने भन्नुहुन्छ, “सार्वजनिक सम्पत्तिमा मनोमानी गर्ने निर्माण कम्पनी र निगरानी गर्ने नगरपालिकाका इन्जिनियरले आफ्नो घर पनि त्यस्तै बनाएका होलान् ?” सपिङ्ग कम्प्लेक्समा १३ वटा कोठा छन् । सबै कोठाको अवस्था त्यस्तै छ । छतमा तल्लो भागको पलास्टर झरेर प्रयोग भएका फलामका सरिया देखिनथालेका छन् । भुइँमाको पलाष्टर निस्किएर खाल्डा परेका छन् ।
नगरपालिकालाई पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफुले दुईवर्षदेखी भाडा नतिरेको रितुराज फेन्सी स्टोरकी सञ्चालिका रिता घिमिरे बताउनुहुँन्छ । भवनकै कारण बिक्रीका लागि राखिएको सामानको बेजोग भएको भन्दै घिमिरेले भवन मर्मतसम्भार भएपछि मात्रै भाडा तिर्ने भनेर नगरपालिकालाई जानकारी गराएको बताउनुभएको छ । “कोठा छोडेर जान हुन्थ्यो । छोडेर पनि कता जाने ? वर्षौदेखि त्यहीँ बसेर व्यापार गरियो ।” घिमिरेले भन्नुभयो, “अझै वर्षातको समयसम्म भवन मर्मतसम्भार नभए छोड्नुपर्ने बाध्यता नै छ । विगत जसरी बिताए पनि दिनप्रतिदिन सामान जोगाउन मुस्किल हुँदै गएको छ ।”
अर्का व्यापारी तिलक पुनमगरले भवन निर्माण गर्ने निर्माण कम्पनी र नगरपालिकाबाट अनुगमन गर्ने इन्जिनियरलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माण कम्पनीको लापरबाहीका कारण भवन एक दशक नपुग्दै जीर्ण बनेको बताउनुभएको छ । “एउटा पक्की भवनको आयु एक दशक पनि हुँदैन र । कि सरकारी भवनको मात्रै हो यस्तो । त्यस्तै हो भने त भन्नू केही छैन । होइन भने इन्जिनियर र निर्माण कम्पनीलाई कारबाही हुनुपर्छ ।” पुनमगरले भन्नुभयो, “राज्यको करोड रुपैयाँ खर्च गरेर बनेका संरचना छिट्टै जीर्ण हुने तर तिनै इन्जिनियरले दिएको नक्साअनुसार बनेका निजि संरचनाहरु बलिया कसरी हुन्छन् । खर्च त निजि भन्दा सरकारीमा बढी भएको हुन्छ ?”
नगरपालिकाकी राजस्व उपशाखा प्रमुख डिला उपाध्याय रेग्मीले भवनको बारेमा पटकपटक जनप्रतिनिधि र कार्यालय प्रमुखलाई जानकारी गराएको भएपनि काम अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले व्यापारीहरुले राजस्व शाखामा पटक,व्यापारीहरुले गुनासो ल्याएर आएको बताउँदै त्यसलाई माथिल्लो तहमा आफुले पुर्याएको बताउनुभयो । “मैले गरेर हुँदैन । काम गर्ने र निर्णय गर्ने कार्यपालिकाले हो ।” रेग्मीले भन्नुभयो, “व्यापारीहरुको समस्या छ । त्यो समस्या समाधानको लागि मैले जानकारी पाएअनुसार कार्यपालिकाले निर्णय पनि गरेको थियो । काम किन अगाडि बढ्न सकेन त्यो थाहा भएन ।”
व्यापारीहरुबाट गुनासो आउन थालेपछि भवनको नगरपालिकाले अनुगमन गरेको छ । नगर प्रमुख रामलाल डंगौरा थारुले भवनको मर्मतसम्भार नगरपालिकाले प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले केही दिनमै भवनको काम अगाडि बढ्ने आश्वासन दिनुभएको छ ।

ताजा खबर

टि-१० क्रीकेटको उपाधी खड्ग मेमोरियललाई

प्रचण्ड टीकापुर आउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *