शेयेर गर्नुहोस
टीकापुर १५ माघ /
निर्वाचनको समयमा राजनीतिक दलको प्रमुख एजेण्डा मध्येको एक हो टीकापुर विमानस्थल ।
जब निर्वाचन आउँछ तब, हरेक राजनीतिक दलको चुनावी एजेण्डामा प्रमुख बुदामा देखिने टीकापुर विमानस्थल अझै पनि सार्थकताको खोजीमा छ । त्यो मुद्दा कसले कहिले पुरा गर्न सक्लान् त्यो अन्योलमै छ । कहिले निर्वाचनलाई मध्यनजर गर्दै विमानस्थलको धावन मार्ग मर्मतसम्भार गर्ने काम होस् वा सस्तो लोकप्रियताका लागि राज्यको पैसा खर्च गरेर केहि दिन भाडाको जहाज सञ्चालन गर्ने कुरा होस् यस्ता कैयौं प्रोपोगन्डाका बीचमा अल्झिएको विमानस्थल यसपटक पनि निर्वाचनको मुख्य एजेण्डा बन्नेमा दुईमत छैन ।
गतवर्षको यो समयमा टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख हाल प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामलाल डगौरा थारुले ठुलै जोखिम लिएर विमानस्थल सञ्चालन गर्ने आट गरेका थिए । नगरपालिकाले जहाज भाडामा लिएर सञ्चालन गरेको भन्दा फरक नपर्ने उक्त योजना वैशाख नपुग्दै सकियो । भाडामै भए पनि लगभग पाँच महिना सञ्चालनमा आएको विमानस्थल अहिले पुनः खंडहर बनिसकेको छ ।
धावनमार्गको समस्या देखाउँदै पटकपटक ओझेलमा पर्दै आएको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायतको मर्मतसम्भारका लागि टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले पनि विमानस्थलका लागि बजेट छ । त्यो बजेट कार्यान्वयन हुनेमा अझै शंका छ । विमानस्थल सञ्चालनमा जसरी पनि ल्याउने हुटहुटी बोकेर लागेका तत्कालीन नगर प्रमुख थारुले पटकपटक विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थिति भए नागरिक उड्डयन प्राधिकरणले उक्त जग्गा फिर्ताको आवाज उठाउँदै आएका थिए । उनको त्यो कुरालाई प्राधिकरणले सुन्न सकेन ।
आउने फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दिएका उम्मेदवारका प्रतिबद्धतापत्र अझै आएका छैनन् । त्यो प्रतिबद्धता पत्र आउँदा विमानस्थल सायद सबैको एजेण्डामा पर्ने स्थानीय रवीन्द्र विश्वकर्माले बताए । “जनताका अगाडि केहि न केहि एजेण्डा ल्याएर त उम्मेदवारलाई आउनै पर्छ । एजेण्डा आउँदा विमानस्थल सायद छुट्दैन ।” उनले भने, “हिजो त्यो ठाउँमा विमानस्थल बन्दैन भन्ने, त्यसै ठाउँमै विमानस्थल सञ्चालन गर्न सकिन्छ भन्नेदेखि त्यहीँ विमानस्थलको अध्ययन गर्नेहरू नै चुनावी मैदानमा भएकाले त्यो एजेण्डा अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।”
चारैतिरबाट बन्द रहेको विमानस्थल खंडहर मात्रै नभई आपराधिक क्रियाकलाप गर्ने ठलो बनेको स्थानीय बताउँछन् । “पहिले विमानस्थल हुँदै दुईवटा सडक सञ्चालनमा हुँदा मानिसहरूको आवागमन हुने भएकोले आपराधिक मानसिकता बोकेकाहरु सचेत भएर बस्थे ।” एकजना स्थानीयले भने, “अहिले चारैतिर बन्द छ । गलत नियत बोकेकाहरुका लागि विमानस्थल सुरक्षित स्थल बनेको छ ।” त्यहाँ लागुऔषध सेवनकर्ता देखि कारोबारीहरुको जमघट हुने गरेको स्थानीयको भनाइ छ । त्यतिमात्र नभई अन्य गलत मानसिकता बोकेकाहरुलाई विमानस्थल सहज स्थल बनेको छ ।
बीचका दुई सडक विमानस्थल सञ्चालनमा आउन नसक्ने अवस्था भएसम्म सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ । “न विमानस्थल सञ्चालनमा छ । न सञ्चालन हुन कुनै सम्भावना । यो अवस्थामा किन सडक बन्द गरेका होलान् ।” स्थानीय सरोज कट्टेलले भने, “विमानस्थल सञ्चालनको टुंगो नलागेसम्म आवागमन सहजताको लागि बन्द गरिएका सडक खोलिदिएको भए त हुन्थ्यो नि ।” उनले राजनीतिक दलहरूका लागि विमानस्थल भजाएर खाने माध्यम बनेको गुनासो गरेका छन् ।








