बाल समृद्धिका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया

शेयेर गर्नुहोस


टीकापुर ०१ जेठ /
बालबालिकाको आवाजलाई सशक्त बनाउँदै बाल समृद्धिका मुद्दालाई उजागर गर्न “हातेमालो परियोजना” ले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
वर्ल्डभिजनको आर्थिक सहयोगमा विकासका लागि युवा एक्यवद्धता (यार्ड) धनगढीको आयोजनामा भजनी क्षेत्रमा क्रीयाशिल सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो । यार्डका कार्यक्रम संयोजक पिताम्बर पौडेलले कैलाली जिल्लाका पाँचवटा स्थानीय तहमा बाल समृद्धि र एकीकृत विकासका लागि “हातेमालो परियोजना” सञ्चालनमा रहेको बताएका छन् । उनकाअनुसार बालबालिकामा समृद्धि ल्याउनका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै २०२६ मा सुरु भएको परियोजना २०३० सम्म सञ्चालन हुने छ ।
परियोजनाले स्थानीय सरकारसँग सहकार्य गर्दै स्थानीय बालमैत्री स्थानीय शासन घोषणा गर्न, बालबालिकाको शिक्षा, स्वास्थ्य, लगायतका आधारभूत विषयमा काम गर्दै आएको पौडेलले जानकारी दिएका छन् । उनका अनुसार समुदायका हरेक सरोकारवालासँग छलफल र समन्वय गरेर बाल समृद्धिकि क्षेत्रलाई सबल बनाउने काम हुँदै आएको छ ।त्यसैअनुसार भजनी नगरपालिकाको वडा नं. १ लाई बालमैत्री स्थानीय शासन वडा घोषणाको तयारी थालिएको छ ।
त्यसका लागि नगरपालिकाले ५१ वटा सुचकमा रहेर काम गरिरहेको नगरपालिका महिला, बालबालिका शाखा प्रमुख रिजु चौधरीले जानकारी दिएकी छन् । उनका अनुसार त्यसैका लागि नगरपालिकाले चार लाख ७० हजार बजेट विनियोजन समेत गरेको छ । बजेट विनियोजन भए पनि बजेट खर्च भने हुन सकेको छैन । असार मसान्तसम्म बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने नगरपालिकाको लक्ष्यलाई असोजसम्म लैजाने तयारी गरिएको शाखा प्रमुख चौधरीको भनाइ छ ।
बालमैत्री स्थानीय शासन लागू गर्न बालविवाह न्यूनीकरण निकै चुनौतीको रुपमा देखिएको छ । त्यस्तै बिधालय कक्षा छोड्ने लगायतका चुनौती देखा परिरहेको शाखा प्रमुख चौधरीले बताएकी छन् । यार्डका सामाजिक परिचालक रतनलाल चौधरीले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *