करिब दुई सयलाई कपडा वितरण

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २८ माघ /
कर्णाली सुपर यातायात प्रालिले सञ्चालनमा ल्याएको कपडा बैंकले चिसो सिजनमा एक सय ९२ जनालाई कपडा वितरण गरेको छ ।
कर्णाली सुपर यातायात प्रालिले करिब दुई महिनाको अवधीमा संकलन भएको कपडा गरिब तथा विपन्न परिवारलाई वितरण गरेको हो । जाडोमा तातो अभियान सञ्चालन गरेका सामाजिक अभियान्ता लोक बहादुर बुढाक्षेत्रीले अहिलेसम्म ४१ जनाबाट संकलन गरिएको कपडा गरिब तथा विपन्न परिवारलाई वितरण गरिएको बताउँदै कपडा लिन आउनेको निकै भिड रहेको र कपडाको अभाव भएको बताएका छन् । “शिविरहरुबाट नागरिकहरू बढी आउने गरेका छन् । जाडो भएको दिनमा ४० देखि ५० जनासम्म कपडाको लागि कपडा बैंकमा पुग्ने गरेका छन् ।” बुढाक्षेत्रीले भने, “हामीले कपडाको लागि आग्रह गर्दै आएका छौं । तर भनेजस्तो सहयोग पाउन सकेका छैनौं ।” उनले दुई जनाले नगद पाँच हजार र सात हजार रुपैयाँ समेत सहयोग गरेको बताउँदै त्यसमा १३ हजार आफुले थपेर २० हजारको नयाँ कपडा मगाएको बताएका छन् ।
सामाजिक कार्यमा निरन्तर रुपमा लागिपरेका बुढाले कपडा बैंकमा पनि राजनीति भएको दुखेसो पोखेका छन् । “एउटा जनप्रतिनिधिसँग थुप्रै पुरानो कपडा छ भनेर थाहा पाएपछि कपडाको लागि आग्रह गर्दा त्यो फलानो पार्टीले सञ्चालन गरेको कपडा बैंकमा कपडा दिदैन भन्ने प्रतिक्रिया आयो ।” बुढाले भने, “शिविरमा पार्टीको संगठन निर्माणमा गएकाहरु मेरो पार्टीले कपडा बैंक सञ्चालनमा ल्याएको छ जति चाहिन्छ कपडा ल्याएर आउनु भनेर नागरिकहरुमा भ्रम छरेर आउँदा रहेछन् ।” उनले कपडा बैंक कुनै राजनीतिक दलले सञ्चालनमा नल्याएको बताउँदै एउटा यातायात प्रालिको नाममा कपडा बैंक सञ्चालन ल्याइएको बताएका छन् ।
बुढाले मासिक तीन हजार कोठाको भाडा समेत आफै तिर्दै आएका छन् । कपडाको अभाव भएपछि कपडा बैंकले दैनिक कपडा उपलब्ध गराउन नसकेपछि अहिले शनिबारका दिन मात्रै कपडा उपलब्ध गराउँदै आएको छ । विगतका दिनमा कोरोनाको दोस्रो संक्रमणको बेलामा निशुल्क कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्याउन निकै महत्त्वपूर्ण भुमिका खेलेका बुढाकै नेतृत्वमा नै लम्की टीकापुर सडकमा परेका खाल्डा पुरेर आवागमनलाई सहज बनाउने काम समेत भएको थियो । उनले समाजमा काम गर्नको लागि कुनै राजनीतिक दलको नाम जोड्न आवश्यक नभएको समेत बताए । “हो हामी सबै एउटा न एउटा राजनीतिक दलसँग जोडिएका छौं । तर सामाजिक काम गर्दै जाँदा पार्टीको नाम जोड्नुको कुनै औचित्य छैन ।” बुढाले भने, “हामिले अरुको ठाउँको बारेमा होइन, हाम्रो ठाउँको बारेमा सोच्ने हो त्यो पनि पार्टी भन्दा माथी उठेर ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *