शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १९ भदौ/
टीकापुर नगरपालिकाले नगरपालिका भित्र र निरन्तर बिधालय अनुगमन तथा विद्यार्थी मुल्यांकनको विषयमा सम्बन्धित शिक्षकहरूसँग छलफल सहित अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
सामुदायिक बिधालयको शैक्षिक गुणस्तरका विषयमा समयसमयमा विभिन्न खालका टीकाटिप्पणी हुन थालेपछि शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाको शिक्षा शाखाले बिधालयमा बिद्यार्थी तथा विषय शिक्षकहरुसँग छलफल र अन्तरक्रिया कार्यक्रम सुरु गरेको हो । छलफलका क्रममा आएका समस्यालाई समाधान गर्दै शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम अगाडि बढाइएको नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताएका छन् ।
उनका अनुसार बिधालयमा शिक्षकहरुसँग समुहमा हुने गरेको छलफलले बिधालय भित्रका र कक्षा कोठा भित्रका समस्या बाहिर आउन थालेका छन् । “हामीले कुन कारणले शैक्षिक गुणस्तर खस्किएको हो भन्ने विषयलाई गहन रुपमा बुझ्नको लागि यो कार्यलाई निरन्तरता दिएका थियौं ।” उनले भने, “वास्तवमै बिधालय र कक्षा कोठामा देखिएका समस्या सामुहिक छलफलबाट समाधान पनि भएका छन् ।” बिधालयमा शिक्षा शाखाको अनुगमन हुँदा १८ विषयमा अनुगमन हुने गरेको छ । जुन अनुगमनका कारण शिक्षकहरुमा नियमित मुल्यांकन गर्ने बानीको विकास भएको छ भने बिद्यार्थीहरुमा पनि केही सुधारका सम्भावनाहरु देखिएका अवस्थी बताउँछन् ।
शिक्षामा सुधार ल्याउनका लागि विषयगत शिक्षकका लागि लक्ष्य निर्धारण गरिएको छ । “गत वर्षको परिक्षाको आधारलाई हेरेर विषयगत शिक्षकले यसवर्ष कति प्रतिशत सुधार गर्न सक्छन् भनेर उहाँहरुको लक्ष्य निर्धारण गरिएको छ ।” शिक्षा अधिकृत अवस्थी भन्नुहुन्छ, “यसले शिक्षकले जिम्मेवारीपूर्वक अध्यापन गराइरहेका छन् । निरन्तर सिकाइ मुल्यांकन गर्दै आउनुभएको छ भने दिइएको लक्ष्यअनुसार नतिजा नआए जवाफ दिनुपर्ने छ ।”
बिद्यार्थीको सिकाइ उपलब्धिलाई नतिजामा देखिने गरी क्रियाकलाप सञ्चालन गरिएका छन् । विशेषगरी कक्षा ८ र कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुसँग शिक्षा अधिकृतले प्रत्यक्ष कक्षा कोठामा पुगेर समस्या बुझ्ने गरेका छन् । बिद्यार्थीमा देखिएका समस्यालाई समाधानका गर्ने प्रयास गरिएको उनले बताएका छन् । उसो त यसपटक कक्षा १० को एसईई भन्दा पहिले नगरपालिकाले टेस्ट परिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । स्रोतकेन्द्रमै उत्तरपुस्तिका चेक हुँदै आएको कक्षा ८ को परिक्षाको उत्तरपुस्तिका नगरपालिकामा चेकजाँच गर्ने योजना शिक्षा शाखाले बनाएको छ ।
बिधालय अनुगमनका क्रममा केही शिक्षकहरुमा अध्ययनको कमि देखिएको पनि पाइएको छ । खासगरी पुरानो शिक्षकहरूमा अहिलेको परिवर्तित समयानुकूल अध्यापन गर्ने शैलीमा सुधारको खाचो देखिएको छ । सामुदायिक बिधालयमा सबैभन्दा बढी कमजोरी अभिभावकको देखिएको अनुगमनले देखाएको छ । यर केही बिधालयमा बिद्यार्थी बिधालयमा अनुपस्थित हुँदा प्रधानाध्यापक नै बिद्यार्थीको खोजीमा घर पुग्ने गरेको पनि पाइएको छ । “बिद्यार्थीप्रती अभिभावकको चासो निकै कम देखिएको छ । कतिपय बिद्यार्थी र अभिभावक एउटै व्यक्ति पनि भेटिएका छन् ।” अवस्थीले भने, “बिधालयको नीति अनुसार बिद्यार्थीहरु चल्न सकेका छैनन् । बिद्यार्थी प्रती अभिभावक जिम्मेवार भए सामुदायिक बिधालयको शिक्षामा उल्लेख्य सुधार हुन्छ ।”
टीकापुर नगरपालिकामा ३५ वटा सामुदायिक बिधालय रहेका छन् । चालू शैक्षिकसत्रमा सामुदायिक र संस्थागत बिधालयमा २७ हजार तीन सय ३४ विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये १० हजार पाँच सय ९५ जना बिद्यार्थी सामुदायिक बिधालयमा अध्ययन गरिरहेका छन् भने १६ हजार ७ सय ३९ जना बिद्यार्थी संस्थागत बिधालयमा छन् । यसवर्ष एक हजार एक सय ६१ जना बिद्यार्थी सामुदायिक बिधालयबाट र ६ सय ७३ जना बिद्यार्थी संस्थागत बिधालयबाट एसईई परिक्षामा सहभागी हुँदैछन् ।