शेयेर गर्नुहोस
लक्ष्मण बिक
टीकापुर २६ पौष / नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ को आयोजनामा टीकापुरमा बृहत बिरोध सभा कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
कैलाली क्षेत्र नं.१ ‘ख’ का सभापति प्रकाश शाहको सभापतित्वमा भएको कार्यक्रमकी प्रमुख अतिथि केन्द्रीय सदस्य ईश्वरी न्यौपाने रहेकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले नेपाली कांग्रेस विधिको शासन मान्ने पार्टी भएको भन्दै नेपाली कांग्रेस अबका दिनमा सत्तामा आए सम्पूणर् जनतालाई न्याय मिल्ने बताएकी छन् । उनले संसद विघटनले लोकतन्त्र, गणतन्त्र फेरि पनि समस्यामा परेको बताएकी छन् । नेपाली कांग्रेसले सधै केपी ओलीको सरकारलाई सधै साथ दिएको भन्दै अहिले ओलीको सरकारले संसद विघटन गरी सम्पूणर् जनतालाई धरासयमा पारेको बताएकी छन् ।
न्यौपानेले ओली सरकारको बिरोध गर्दै देश नेपाली जनताको रेमिटान्सले चलिरहेको बेलामा पनि वैदेशिक रोजगारका लागि बिदेश गएका नेपाली नागरिकलाई नेपाल फर्कनलाई बोर्डरमा बसी राख्दा पनि ओली सरकारले ती नेपाली नागरिकमा कुनै चासो नदिएको बताएकी छन् ।
कार्यक्रममा न्यौपानेले विश्व कोभिडको महामारीमा गुज्रिरहँदा पनि किसानहरुले मल खाद नपाएको अवस्था र शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुले पढ्न नपाएको अवस्थामा ती किसान र विद्यार्थीहरुका समस्यालाई सरकार समाधान गर्नुको साटो संसद विघटनको तयारीमा जुटेको सरकारको बिरोध गर्दै नेपाली काँग्रेस देशभसिर सरकारको बिरोध गर्दै आएको बताएकी छन् । उनले कम्युनिष्ट सरकार नैतिकता र इमान्दारिता हराउँदै गएको आरोप समेत लगाएकी छन् ।
कार्यक्रममा तरुण दलका क्षेत्रीय सभापति रामबहादुर भण्डारीले प्रत्येक दिन १ हजार ८ सय युवाहरु विदेश पलायन भइरहँदा पनि ओली सरकारले ती युवाहरुका लागि स्वरोजगारका कार्यक्रम ल्याउन सक्षम नभएको बताएका छन् । उनले वर्षमा ४० हजारभन्दा युवाहरु आफ्नो शैक्षिक योग्यताको प्रमाण पत्र लिई घरमै बसिरहेको बताउँदै सरकारले ती युवाहरुका निमित्त अहिलेसम्म केही पनि गर्न नसकेको बताएका छन् । ‘देशमा प्रत्येक वर्ष ४० हजार युवाहरु शैक्षिक बेरोजगार भएका बसेका छन् । उनीहरुको व्यवस्थापन सरकारले गर्न सकेको छैन ।’ भण्डारीले भने, ‘देशलाई समस्या पर्दा युवा चाहिने तर त्यही युवालाई समस्या पर्दा देश पछाडि हट्ने ? सरकारले जसरी पनि बेरोजागर युवाहरुलाई योग्यताअनुसार काम दिलाउनु पर्दछ ।’
उनले अब विचारको लडाइ-भन्दा सोच र परिवर्तनको लडाइ गर्न आवश्यक रहेको बताएका छन् । उनले देशले मागे युवाहरु आफ्नो ज्यान बलिदान गर्न पनि तयार रहेको बताउँदै देशप्रति अगाढ माया र देशशक्ति देखाउने युवाहरुलाई सरकारले विशेष प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । भण्डारीले भने, ‘तर सरकारले त्यसो नगरी युवाहरुलाई भोटको लागि मात्र प्रयोग गर्दै आएको छ । अब यस्ता युवाहरुलाई व्यवस्थापन गर्नुपर्दछ ।’
महिला विभागकी केन्द्रीय सदस्य ललिता स्वाँरले सरकारले महिलाहरुको हक अधिकारलाई समेत कुण्ठित बनाएको आरोप लगाएकी छन् । उनले ओली सरकारले जातीय विभेदका लागि जतिसुकै नाराबाजी गरे पनि त्यसको अन्त्य गर्न नसकेको बताएकी छन् । जातीय विभेदका बिरुद्ध नेपालको संविधानमा लेखिएका कुरा संविधानको किताबमा मात्रै सीमित रहेको र त्यसले व्यवहारमा कुनै परिवर्तन नआएको बताएकी छन् । उनले निर्मला पन्त हत्याकाण्ड अहिलेसम्म पनि छिनोफानो हुन नसक्नु त्यसको प्रमाण रहेको बताएकी छन् ।
अहिलेको कार्यक्रम तेस्रो चरणको कार्यक्रम रहेको भन्दै आउँदो माघ ३ गते चौथोे चरणको बिरोध र्याली फेरि हुने नेपाली काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ का सचिव जग्गु चौधरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।