शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०५ जेठ /
कोरोनाको संक्रमण बढेसंगै समुदायस्तरमा युवाहरु सक्रिय हुन थालेका छन । युवाहरूले बिरामीहरुकालागी अक्सिजन आपूर्तिका लागि रकम संकलन गर्ने, औसधि घरसम्म पुर्याउने, अस्पतालमा बिरामीलाई खान तथा खाजाको ब्यबस्थापन जस्ता काममा युवाहरू सक्रिय हुन थालेका हुन ।
कैलालीको भजनी नगरपालिकामा एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र छ । दुईजना मात्र मेडिकल अधिकृत । दुबैजना स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचार गर्नुका साथै कोरोना संक्रमितको उपचारमा पनि तिनै चिकित्सक खटिने गर्नुभएको छ । अक्सिजन अभावका कारण बिरामीहरुले अकालमा ज्यान गुमाउन नपरोस् भन्दै भजनीका युवाहरुले सामाजिक संजाल मार्फत (बाचौं र बचाऔं) अभियान मार्फत आर्थिक सहयोगको आव्हान गरेका छन । त्यसबाट संकलन भएको रकमले अक्सिजन आपूर्ति गर्नुका साथै स्वास्थ्य सामग्री खरिद गरि स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्दै आएका छन । अभियानका अभियन्ता सुरेन्द्रप्रसाद जैसीले अक्सिजनको आपूर्तिमा सहजताका लागि सामाजिक संजाल मार्फत गरिएको आव्हानबाट हालसम्म करिब ५ लाख सहयोग संकलन भएको जानकारी दिनुभएको छ । “भजनीमा अक्सिजनको अभावका कारण कुनै बिरामीले ज्यान गुमाउन नपरोस् भनेर अभियान सुरु गरेका हौ ।” अभियन्ता जैसीले भन्नुभयो, “अहिले सम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई सानो र दुई ठुलो अक्सिजन सिलिन्डर खरिद गरि हस्तान्तरण गरिसकेका छौ । हामिले दुई ठूलो अक्सिजन सिलिन्डर धरौटीमा खरिद गरेका छौ । त्यसको रकम संकलन हुँदै जादा बुझाउने सहमति भएको छ ।”
स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत भगवान श्रेष्ठले अधिकांश संक्रमितहरुलाई अक्सिजनको सहयोगमा राख्नु परिरहेको बताउदै अक्सिजनको चरम अभाव रहेको बताउनुभएको छ । “हामिसंग १७ वटा सानो र ५ वटा ठूलो अक्सिजन सिलिन्डरहरु छ । त्यो प्रयाप्त छैन ।” श्रेष्ठले भन्नुभयो, “रिफिलका लागि पठाएका सिलिन्डरहरु पनि भरी आउदैन । बिरामीहरुलाई बचाउन हामिलाई निकै सकस हुँदै आएको छ ।” भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले सम्म ७ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ ।
त्यस्तै युवा संघ नेपालले टीकापुर अस्पतालमा आउने बिरामीहरु र बिरामीका कुरुवालाई खाना र खाजाको ब्यबस्था गर्दै आएको छ । युवा संघ नेपालका स्थाइ कमिटी सदस्य अशोक रावलको नेतृत्वमा युवाहरूले बिरामी र कुरुवाहरुको खाना र खाजाको ब्यबस्था गर्दै आउनुभएको छ । “यो निकै अप्ठ्यारो अवस्था हो । अहिले बिरामिलाई घरबाट खाना ल्याउन समेत सम्भव छैन भने कुरुवाले बिरामिलाई छोड्न सक्ने पनि ।” रावलले भन्नुभयो, “हामिहरुसंग जति जे छ त्यसै अनुसारको ब्यबस्था मिलायर काम गर्दै आएका छौ । हाम्रो सानो सहयोगले कसैलाई ठूलो राहत मिल्छ भने किन सहयोग नगर्ने ? ” उहाँले हप्तामा ५/५ जनाको समुह बनाएर काम गर्दै आएको बताउदै अभियान कोरोनाको अहिलेको अवस्था सामान्य नहुदा सम्म निरन्तर रहने बताउनुभएको छ ।
सामाजिक संजालमार्फत टीकापुरका युवाहरुले रकम संकलन गरि अस्पताललाई अक्सिजन सिलिन्डर रिफिल गरि सहयोग गर्दै आएका छन । अभियन्ता नृपबहादुर रावले अस्पतालमा बिरामीहरुको उपचारमा सहयोग होस भन्ने उद्देश्यले अभियान संचालन गरिएको बताउनुभयो । “जस्ले जति सक्छ स्वस्फूर्त रुपमा सहयोग गर्न सक्छन । त्यही संकलन भएको सहयोग रकमले अस्पताललाई चाहिने स्वास्थ्य सामग्री र अक्सिजनमा सहयोग गर्दै आएका छौ ।” रावले भन्नुभयो, “यो अभियान निरन्तर छ । हामिले स्वस्फूर्त रुपमा समुदायमा युवाहरुले गर्नुपर्ने जिम्मेवारीको मात्रै बहन गरेका छौ ।”
लम्कीचुहा नगरपालिकामा युवाहरूले पुर्ब पश्चिम राजमार्गमा हेल्थ डेस्क संचालन गर्दै आएका छन । उनिहरुले आवतजावत गर्ने यात्रुहरुलाई मास्क, सेनिटाइजर, अलपत्र परेकाहरुको उदार गरि घरसम्म पुर्याउनुका साथै अत्यावश्यक औषधहरु घरसम्म पुर्याउने ब्यबस्था मिलाएका छन । अभियानका सदस्य प्रकाश खनालले हेल्थ डेक्स संचालन भएपछी नागरिकहरुलाई धेरै सहज भएको बन्दै अटो रिक्सालाई यम्बुलेन्सको रुपमा प्रयोग गरि बिरामिहरुलाई अस्पतासम्म पुर्याउने काम समेत गर्दै आएको बताउनुभएको छ । “हामी ४/५ जना युवाहरूले अभियान सुरु गरेका थियौ । अहिले थुप्रै जोडिनुभएको छ । बाहिरबाट पनि सहयोग हुँदै आएको छ ।” खनालले भन्नुभयो, “आफु पनि सुरक्षीत रहने र अप्ठ्यारोमा परेकाको गन्तव्य सम्म पुर्याउदै आएका छौ ।” उहाँले अरुले गरिदेला भनेर आसमा बस्नु भन्दा यस्तो महामारीको समयमा सबैले आआफ्नो क्षेत्रबाट सकिने सहयोग गरे समस्यामा परेकाहरुलाई ठूलो राहत मिल्ने बताउनुभयो ।
युवाहरुले समाजप्रति देखाएको सहानुभूतिले नागरिकहरुमा युवाहरूप्रती बिश्वास समेत बढ्न थालेको छ । अहिले कुनै समस्या पर्दा अस्पताल पुग्नुभन्दा पहिले युवाहरूसंग नागरिकहरुले समन्वय गर्न थालेका छन ।