बुझ पचाएका ठेकेदार

शेयेर गर्नुहोस


टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. “ए” अन्तर्गतको सडक निर्माण सुरु भएर पनि दुई पटक म्याद थप भैसकेको छ । दोस्रोपटक थपिएको म्याद सकिन लाग्दा पनि कामले निरन्तरता पाउन सकेको छैन । विद्युत पोल देखाएर काममा आलटाल गर्दै आएको निर्माण कम्पनीले पटकपटक बुझ पचाउँदै आएको छ । निर्माण कम्पनीले कसैको कुरालाई आत्मसात गर्न तयार देखिएको छैन । सबैभन्दा कमसल काम गरेको निर्माण कम्पनीले नागरिकहरुको अधिकारलाई समेत कुण्ठित गर्ने काम गरेको छ । आयोजनाको बारेमा जानकारी पाउनको लागि सुचना बोर्ड राख्नुपर्ने भएपनि त्यसमा निर्माण कम्पनी निरीह बनेको छ ।
सुचना बोर्ड लगाए चन्दा माग्छन् भनेर सूचना बोर्ड नलगाएको प्रतिक्रिया दिने निर्माण कम्पनी कतिसम्म गैरजिम्मेवार छ भन्ने कुराको पुष्टि हुन्छ । सडक अस्तव्यस्त अवस्थामा छोडेको पाँच महिना हुँदा पनि काम सुचारु हुन सकेको छैन । ठेकेदारकै लापरबाहीका कारण कयौं सवारी दुर्घटना समेत भएका छन् । सडकमा गिट्टी बिच्चाएको महिनौं भयो । त्यसको निकास हुन सकेको छैन । निर्माण भएका नाली ठाउँठाउँमा प्वाल परेका छन् । त्यसको अनुगमन कसैले पनि गरेको छैन । बिना अनुगमन आफ्नै मनमर्जीले निर्माण हुन लागेको उक्त आयोजना निर्माण सम्पन्न नहुँदै जिर्ण बन्नेमा कुनै शंका छैन ।
स्थानीय सरकार आयोजना आफ्नो मातहतको नभएको भन्दै टार्दै आएको छ । भोलि आयोजना नै अलपत्र पर्ने अवस्था आएको खण्डमा पनि नगरपालिकाले बोल्ने भाषा यहीँ हुन्छ कि बद्लिन्छ ? त्यो हेर्न बाँकी छ । निर्माण कम्पनीले यो वा त्यो बाहनामा काम नगर्ने, नगरपालिकाले आफ्नो मातहतको नभएको प्रतिक्रिया दिने हो भने योजनाको जिम्मेवार निकाय टीकापुर बन्न सक्ने कि नसक्ने भन्ने प्रश्न उठेको छ । अब आयोजनालाई सुचारु गर्न र समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई दबाब दिनुको विकल्प छैन । कित जसरी ठेकेदारले बुझ पचाएको छ त्यसैगरी सबैले बुझ पचाएर बस्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *