सत्ताकै लागि मरिहत्ते नगर

शेयेर गर्नुहोस


सम्पादकीय २३ माघ /
सत्तारूढ दलसँग असन्तुष्ट बन्दै आफ्ना सांसदलाई पक्राउ गरेको भन्दै सडक संघर्षमा उन्मुक्ति पार्टी उत्रेपछि सुदुरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिने समयमा बाहिर हुने सम्भावना बढेपछि सरकारले पुर्णता पाउने सम्भावना निकै कम्जोर बन्दै गएको छ । सरकारको नेतृत्व गरेको एमालेलाई सरकार टिकाउनु छ भने नागरिक उन्मुक्ति पार्टीलाई आफ्ना सांसद अरुण कुमार चौधरी लगायत टीकापुर घटनाका राजबन्दीहरुलाई छुटाउनु छ ।
दुबैको स्वार्थ जनताको लागि नभई आफ्नो लागि छ । एमालेले सत्ता जोगाउन पक्राउ परेका चौधरीलाई रिहाई गर्नुपर्छ । चौधरी रिहाई भएपछि मात्रै नागरिक उन्मुक्तिले सरकारलाई विश्वासको मत दिन सक्ने बताएको छ । यतिबेला एकका अगाडि अर्को भारी परेको छ । उता प्रतिपक्षीको भुमिकामा रहेको नेपाली काँग्रेस पनि तानाबाना बुन्न थालिसकेको छ । नागरिक उन्मुक्तिलाई सरकारको नेतृत्व छोडेर पनि सरकारमा सहभागी हुन चाहेको काँग्रेसको स्वार्थ पनि सत्ता नै छ । काँग्रेस उन्मुक्तिलाई आफ्नो पक्षमा लिएर सरकार बनाउने दाउमा छ भने एमाले सरकार गठन गर्दाको समर्थनलाई विश्वासको मत लिँदासम्म जिवित राख्न चाहान्छ ।
यतिबेला प्रदेश सरकार अनिर्णयको बन्दी जस्तै बनेको छ । निर्वाचन सम्पन्न भएको करिब तीन महिना पुग्नै लाग्दा पनि सरकारले कार्यसम्पादनलाई अगाडि बढाउन सकेको छैन । प्रदेशको कामकारबाही निकै सुस्त बनेको छ । सत्ताको हानथापले जनताको विश्वासको आधार गुम्दै जाने स्थिति सिर्जना भएको छ । प्रदेशका विकासका कार्यक्रमहरु प्रभावित हुँदै गएका छन् । सत्ता र पदका लागि जस्तोसुकै बार्गेनिङ गर्न पछि नपर्ने राजनीतिक दलले सत्ता भन्दा गलत प्रवृत्तिको अन्त्यका लागि काम गर्न सके जनताको विश्वास पनि प्राप्त गर्न सक्ने आधार रहनसक्छ । नभए हिजो र आजको कार्यशैलीमा कुनै सुधार भयो भनेर भन्ने ठाउँ रहने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *