शेयेर गर्नुहोस
टीकापुर १४ भदौ /
टीकापुर नगरपालिकाको बहुमत नगर सभाबाट पारित भएको चालू आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयनमा अन्योलता थपिँदै गएको छ ।
कार्यवाहक नगर प्रमुखको विवादले नगर सभाका जेष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा १९ औं नगर सभाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट पारित गरे पनि कार्यान्वयनमा नगर सभालाई बहिस्कार गरेका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले अख्तियारी दिन नमानेपछि बजेट कार्यान्वयनमा अन्योलता थपिँदै गएको हो । नगरपालिकाले एक अर्ब तीन करोड ६७ लाख ७७ हजार एक सय रुपैयाँको बजेट नगर सभाबाट पारित भएको थियो ।
बजेट कार्यान्वयनका लागि पछिल्लो समय वडा अध्यक्षहरुमा केहि लचकता भने देखिएको छ । सर्वोच्च अदालतले बहुमतबाट रामबहादुर नगार्जीलाई हटाएर बलीराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाएपछि आपतकालीन अन्तरिम आदेश दिएपछि नगार्जीलाई कार्यवाहक स्विकार गर्न नसकेका वडा अध्यक्ष अहिले बजेट कार्यान्वयनका लागि कार्यवाहक स्विकार गर्न तयार देखिएका छन् । उनीहरुले नगर सभाले पारित गरेको बजेट कार्यपालिका बैंककबाट निर्णय गरेर कार्यवाहक नगर प्रमुखले कार्यान्वयनका लागि अख्तियारी दिन सकिने बताउँदै आएका छन् ।
तर कार्यवाहक नगर प्रमुख नगार्जीले भने आफ्नो उपस्थिति नरहेको नगर सभाले पारित गरेको बजेट कार्यान्वयनका लागि अख्तियारी दिन नसक्ने बताएका छन् । “मैले मेरो उपस्थिति नभएको बैठकले पारित गरिएको बजेटको अख्तियारी दिन सकिँदैन ।” उनले भने, कैयौं कानुनी जटिलता रहेको परिस्थितिमा मैले बजेट कार्यान्वयनको निर्देशन दिँदा भोलि म माथी उठ्ने कानुनी प्रश्नको जवाफ कसले दिन्छ ?”
त्यसबेलाको नगर सभाले पारित गरेको नीति तथा कार्यक्रम सहितको बजेटलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्नका लागि आफ्नो अध्यक्षतामा पुनः नगर सभाको बैठक आह्वान हुनुपर्ने अडान नगार्जीको छ । “जे पहिले पारित भएको छ, त्यसैलाई हुबहु पारित गरौं ।” उनले भने, “तर नगर सभाको बैठक मेरो अध्यक्षतामा आव्हान गरेर औपचारिकता मात्रै भए पनि दिनुपर्छ । नत्र म अहिलेको बजेट कार्यान्वयनको लागि अख्तियारी दिन सक्दैन ।”
उता वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले अहिलेकै अवस्थामा अर्को नगर सभा गर्न सकिने सम्भावना कम रहेको बताए । “एउटा नगर सभा भैसकेको छ । अझ अर्को नगर सभा कसरी सम्भव होला ?” उनले भने, “छलफल चलिरहेको छ । निकासको बाटो खोजिरहेका छौँ । जसरी पनि बजेट कार्यान्वयनमा लैजानुको विकल्प छैन ।” उनले सर्वोच्च अदालतले पेशी माघमा सारेर नगरपालिकालाई थप अन्योलमा पार्ने काम गरेको बताएका छन् ।
वडा नं. १ का वडा अध्यक्ष मोहन विकले पनि अर्को नगर सभा नहुने बताए । “नगर सभा र कार्यपालिका फरक पाटो हो । हामीले विनियोजन भएको बजेट कार्यपालिका बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लैजान सकिने कुरामा सहमत छौँ ।” उनले भने, “नगर सभा नै आव्हान गरेर पुनः बजेट ल्याउने कुरा सम्भव छैन ।” उनले विषम परिस्थितीमा सबैले लचक भएर समस्यालाई समाधान तर्फ लैजानुको विकल्प नरहेको बताएका छन् ।
नगरपालिकामा देखिएको राजनीतिक प्रतिशोधले नागरिकहरू आक्रोशित देखिएका छन् । स्थानीय केपी ढुंगानाले विनियोजन भएको बजेट कार्यनयन गरी प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज गर्ने वातावरण सिर्जना गरिनुपर्ने भन्दै नगरपालिकालाई अनिर्णयको बन्दक बनाउनु राम्रो नहुने बताए । युवा समाजसेवी प्रकाश खड्काले नेपाली काँग्रेस भित्रको एउटा निश्चित समूहले टीकापुर नगरपालिकालाई अनिर्णयको बन्दी बनाइरहेको आरोप लगाए । कार्यवाहक नगर प्रमुखलाई पात्रका रूपमा अघि सारेर वास्तविक निर्देशकहरू भने बाहिरबाट आफ्नै इशारामा नगरपालिका चलाउन खोजिरहेका उनको भनाइ छ ।










